श्रेष्ठका प्रकाशित चार पुस्तकहरू


(1) Democracy Prevails

सूर्य प्रसाद श्रेष्ठको पहिलो प्रकाशित कृति Democracy Prevails: General Election in Nepal-1991 नेपालमा प्रजातन्त्र पुनःस्थापना पछिको पहिलो संसदीय निर्वाचन १९९१ (बि.सं २०४८) को ऐतिहासिक दस्तावेजात्मक संकलन हो । यो पुस्तक निर्वाचन आयोग नेपालले प्रकाशन गरेको एक संक्षिप्त तर अत्यन्त महत्वपूर्ण ह्यान्डबुक शैलीको कृति हो, जसमा उक्त निर्वाचनसँग सम्बन्धित आधारभूत तथ्य, प्रक्रिया र परिणामहरू व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ । तत्कालीन प्रमुख निर्वाचन आयुक्तका रूपमा सूर्य प्रसाद श्रेष्ठको नेतृत्वमा सम्पन्न २०४८ सालको पहिलो आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरिसकेपछि संकलित अनुभव र तथ्याङ्कलाई आधार बनाएर यो पुस्तक तयार गरिएको हो । यसमा निर्वाचन व्यवस्थापन, मतदान प्रक्रिया, निर्वाचन क्षेत्र संरचना, मतगणना प्रणाली तथा समग्र निर्वाचन सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण विवरणहरू समेटिएका छन् । पुस्तकले नेपालमा लामो समयको पञ्चायती शासनपछि पुनःस्थापित प्रजातन्त्रमा सम्पन्न पहिलो संसदीय निर्वाचनलाई संस्थागत दृष्टिले बुझ्न मद्दत पु¥याउँछ । साथै, निर्वाचन प्रणालीको प्रारम्भिक अभ्यास, प्रशासनिक समन्वय र व्यवस्थापकीय चुनौतीहरूलाई संक्षेपमा उजागर गर्दै त्यस समयको निर्वाचन प्रक्रियाको ऐतिहासिक अभिलेख प्रस्तुत गर्दछ । समग्रमा, यस पुस्तक नेपालमा लोकतान्त्रिक अभ्यासको सुरुवाती चरणलाई बुझ्न चाहने अध्येताहरू, अनुसन्धानकर्ता तथा निर्वाचन इतिहासमा रुचि राख्ने सबैका लागि एक मूल्यवान सन्दर्भ सामग्रीका रूपमा रहेको छ ।

(२) स्मृतिमा गिन्नी बाबा श्रेष्ठ (Memories)

जीवनको यात्रामा कहिलेकाहीँ यस्ता क्षणहरू आउँछन्, जसले समयलाई नै रोकिदिन्छ र स्मृतिलाई अनन्त बनाइदिन्छ । बि सं २०७४ सालमा सूर्य प्रसाद श्रेष्ठकी जीवनसाथी गिन्नी बाबा श्रेष्ठको देहवासनले उहाँको व्यक्तिगत जीवनमा गहिरो रिक्तता मात्र सिर्जना गरेन, बरु त्यो रिक्तताभित्र प्रेम, सम्झना र श्रद्धाको एउटा अमिट अध्याय पनि जन्मायो । त्यही गहिरो भावनात्मक वेदना र अटुट प्रेमको अभिव्यक्तिस्वरूप सूर्य प्रसाद श्रेष्ठले आफ्नो जीवनसंगिनीप्रति समर्पित गर्दै “स्मृतिमा गिन्नी बाबा श्रेष्ठ” नामक एक स्मृति पुस्तक प्रकाशित गर्नुभयो । यो पुस्तक केवल सम्झनाको संकलन मात्र होइन, बरु एक जीवन्त अनुभूति हो—जहाँ प्रेम, विछोड र स्मृतिहरू एउटै भावनात्मक धागोमा बाँधिएका छन् । यस स्मृति ग्रन्थमा गिन्नी बाबा श्रेष्ठसँग सम्बन्धित सम्पूर्ण परिवारका तस्बिरहरू समावेश गरिएका छन् । परिवारका प्रत्येक सदस्यका लागि छुट्टाछुट्टै स्मृति पृष्ठहरू तयार पारिएका छन् जहाँ उनीहरूको गिन्नी बाबा श्रेष्ठसँगको सम्बन्ध, उहाँप्रतिको सम्झना र हृदयमा बसेका भावनाहरू सरल तर अत्यन्त मार्मिक रूपमा अभिव्यक्त गरिएका छन् । पुस्तकको विशेष आकर्षण भनेको यसको वंशावली प्रस्तुति हो, जसले परिवारको सम्बन्ध–सूत्रलाई एक सुन्दर र संरचित रूप दिएको छ । साथै, यसमा समेटिएका भावचित्रहरू र स्मृतिपूर्ण तस्बिरहरूले पुस्तकलाई अझ जीवन्त बनाएका छन् । सबैभन्दा हृदयस्पर्शी पक्ष भनेको सूर्य प्रसाद श्रेष्ठले भावविभोरतामा आफ्नै मनबाट पीडाको आशुले कोरनु भएको कविता हो, जसले यो स्मृति पुस्तकलाई केवल स्मृति पुस्तक मात्र होइन, एउटा गहिरो भावनात्मक दस्ताबेज बनाइदिएको छ । उहाँको शब्दहरूमा विछोडको पीडा मात्र होइन, प्रेमको अमरता पनि झल्किएको छ ।

विछोडको वेदनामा
मेरो प्रिय तिमिलाइ बिर्सनै सकिन
रोएर कसरी बिताउँ हाँस्नै सकिन ।
स्मृति र विस्मृतिको दोसाँधमा
रोदन र क्रन्दनको माझमा ।
स्तब्ध भइ शून्यमा म एक्लै छु
म फेरी तिमीसँग किन बेग्लै छु ।
प्रिय तिमीलाइ भेट्न मन लाग्छ
तिम्रै आकृति भित्र बसेर लेख्न मन लाग्छ ।।
---सूर्य प्रसाद श्रेष्ठ

(३) सूर्यास्त–बिम्ब

सूर्य प्रसाद श्रेष्ठको तेस्रो पुस्तक “सूर्यास्त–बिम्ब” उहाँको जीवन, अनुभव र स्मृतिहरूको आत्मपरक प्रस्तुति हो । यो कृति केवल आत्मकथा मात्र नभई एक अनुभवी प्रशासक तथा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिको दृष्टिकोणबाट देखिएको समय, समाज र राज्य सञ्चालनको प्रतिबिम्ब पनि हो । पुस्तकमा लेखकको बाल्यकालदेखि अध्ययन, पेशागत जीवन र प्रशासनिक सेवामा बिताएका महत्वपूर्ण चरणहरू समेटिएका छन् । यो पुस्तक नेपालको प्रथम राष्टपति डा रामवरण यादवको हातबाट ठुलो समारोहबिच लोकार्पण भएको थियो । नेपाल सरकारको विभिन्न उच्च पदमा रहँदा देखिएका अनुभव, चुनौती र उपलब्धिहरूलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरिएको छ । विशेषगरी गृह प्रशासन, उद्योग–वाणिज्य क्षेत्र तथा निर्वाचन व्यवस्थापनसँग सम्बन्धित अनुभवहरू पुस्तकमा उल्लेख छन्, जसले नेपालको प्रशासनिक संरचना र निर्णय प्रक्रियाको भित्री पक्ष बुझ्न सहयोग पु¥याउँछ । साथै, तत्कालीन सामाजिक–राजनीतिक परिस्थितिको सन्दर्भमा देखिएका परिवर्तन र त्यसले व्यक्ति तथा संस्थामा पारेको प्रभावलाई पनि पुस्तकले समेटेको छ । “सूर्यास्त–बिम्ब” मा व्यक्तिगत जीवनका भावनात्मक पक्ष, संघर्ष, पारिवारिक अनुभव तथा जीवनका उतारचढावहरू पनि समावेश छन्, जसले पुस्तकलाई केवल औपचारिक आत्मकथाबाट माथि उठाएर मानवीय अनुभूतिसँग जोड्छ । समग्रमा, यो कृति लेखकको जीवनयात्रासँगै नेपालको प्रशासनिक र सामाजिक परिवेशलाई नजिकबाट बुझ्न चाहने पाठकका लागि एक महत्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ । Click Here to Buy This Book

(४) लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन नालीबेली

सूर्य प्रसाद श्रेष्ठको चौथो नयाँ पुस्तक “लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन नालीबेली” २०८२ साउन १८ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा ठुलो समारोहबिच विमोचन भएको थियो । पुस्तक बुलकहील पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तककमा नेपालको संवैधानिक कानुनका विज्ञ प्रा. डा. विपिन अधिकारीले विश्लेषणात्मक भूमिका लेख्नुभएको छ । यस पुस्तक बि.सं. १९९० देखि हालसम्मको राजनीतिक विकासक्रम, नियमित निर्वाचन र लोकतान्त्रिक यात्राले कसरी एकले अर्कोलाई मार्गनिर्देश गरिरहेको छ भन्ने बारेमा एक नवीन एवं अनुभवजन्य विश्लेषणात्मक दस्तावेज हो । विशेष गरी यस पुस्तकमा नेपालको पहिलो आम निर्वाचन २०१५ देखि अहिलेसम्मका सम्पूर्ण निर्वाचनको ऐतिहासिक पृष्ठभूमि, निर्वाचन प्रणाली र परिणामको तुलनात्मक अध्ययन समेत प्रस्तुत गरिएको छ । निर्वाचन प्रक्रियाको विकासक्रमलाई सामाजिक न्याय, समावेशीकरण र लोकतान्त्रिक सुदृढीकरणका दृष्टिले नेपाली लोकतन्त्रले पार गरेका उतारचढाव र चुनौतीको व्याख्या गरेको यस पुस्तकले जनचाहनाको विश्लेषण गर्दै निर्वाचनले सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पारेको प्रभावलाई समेत उजागर गरेको छ । पुस्तकको अन्तमा नेपालको लोकतान्त्रिक विकासको इतिहासमा निर्वाचनले खेलेको महत्वपूर्ण भूमिका, प्रणालीगत सुधार, जनप्रतिनिधित्वको सुदृढीकरण र समावेशी अभ्यासका विविध आयामहरूको सम्वन्धमा अनुभवजन्य सुझावहरु समेत समावेश गरिएको छ । समग्रमा, यस पुस्तक अनुसन्धानकर्ता, राजनीतिक नेतृत्व वर्ग एवं कार्यकर्ता, राजनीतिक विश्लेषक, विद्यार्थी र लोकतन्त्रप्रति रुचि राख्ने सबैका लागि उपयोगीसिद्ध हुने विश्वास गरिएको छ । Click Here to Buy This Book

Share:
Let's safeguard our Democracy together

Featured Post

नेपालको लोकतन्त्र विचार र सिद्धान्तनिष्ठ संघर्ष, त्याग र बलिदानीबाट आएको हो

सहिद दिवस का सन्दर्भमा नेपालको लोकतान्त्रिक यात्राको स्मरण पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठज्यूका विचारहरूको आधारमा भीमप्रसा...

Thanks For Visiting

Send Me a Message