पूर्वप्रमुख निर्वाचन आयुक्त तथा लेखक सूर्यप्रसाद श्रेष्ठ को आत्मकथा कृति ‘सूर्यास्त विम्ब’ को विमोचन कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको थियो । साहित्यिक पत्रकार संघको आयोजनमा एक कार्यक्रमबीच प्रथम राष्ट्रपति रामवरण यादवले यस पुस्तक लोकार्पण गर्नु भएको हो । कार्यक्रममा नेपालका विभिन्न साहित्यकार, बुद्धिजीवी, राजनीतिज्ञ तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कृतिमा लेखकले आफ्नो जीवनका अनुभव, संघर्ष, सार्वजनिक सेवा तथा समकालीन नेपाली समाज र राजनीतिक परिवेशका विविध पक्षलाई आत्मीय ढंगले प्रस्तुत गर्नुभएको छ। कार्यक्रममा राष्ट्रपति रामवरण यादवले लेखकको दिर्घ सार्वजनिक जीवनप्रतिको सम्मान व्यक्त गर्नुका साथै नेपाली साहित्यमा उहाँको योगदानको पनि उच्च प्रशंसा गर्नुभएको थियो।
उक्त कृतिमा बारेमा लेखक एवं संविधानविद् काशीराज दहाल, त्रिविविका डिन प्राडा.कुशुम शाक्य र पत्रकार डा.जगत नेपालले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रथम राष्ट्रपति यादव, संघका अध्यक्ष राधेश्याम लेकाली, लेखक श्रेष्ठ, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का सस्थापक महासचिव एवं इन्हुरेड इन्टरनेसनलका अध्यक्ष डा.गोपालकृष्ण सिवाकोटी र पुस्तकका सम्पादक विवश वस्तीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
सापसका पूर्वअध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत गर्नु भएको सो कार्यक्रममा इतिहासविद् प्राडा.सुरेन्द्र केसी, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष प्रा.कपिल श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू भोजराज पोख्रेल र नीलकण्ठ उप्रेती मञ्चासिन रहनु भएको थियो । संघका अध्यक्ष लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण कवि एवं पत्रकार ठाकुर बेलवासेले गर्नु भएको थियो।




