मेरो प्रिय भाइ कृष्ण गोपाल श्रेष्ठको असामयिक निधनको खबरले म अत्यन्तै मर्माहत भएको छु । उहाँसँग मेरो बाल्यकालदेखिको आत्मीय सम्बन्ध थियो । सँगै खेल्दै, बस्दै र सुख–दुःखमा परस्पर सद्भाव तथा आत्मीयता बाँड्दै बिताएका ती दिनहरू आज पनि झलझली सम्झनामा आइरहेका छन् ।
कृष्ण गोपालले आफ्नो व्यापार तथा उद्यमको विकास र विस्तारका क्रममा अनवरत संघर्ष, अथक मेहनत र त्याग गर्नुभएको थियो । उहाँको उद्यमशीलता र कर्मठताका कारण धेरै व्यक्तिले रोजगारीको अवसर प्राप्त गरेका थिए । आफ्नो जन्मभूमि संखुवासभाको विकासमा समेत उहाँले उल्लेखनीय योगदान पुर्याउनुभएको थियो ।
व्यावसायिक क्षेत्रमा मात्र नभई सामाजिक तथा धार्मिक सेवाका क्षेत्रमा पनि उहाँको योगदान प्रशंसनीय र स्मरणीय छ । मूलघाटस्थित आश्रम, चितवनको देवघाटमा धर्मशाला निर्माण तथा सुनसरी जिल्लाको धरानस्थित सिद्धि नेवा समाजको भवन निर्माण लगायतका सामाजिक कार्यमा उहाँले उल्लेखनीय सहयोग पुर्याउनुभएको थियो । समाज र समुदायप्रतिको उहाँको सेवाभाव सदैव स्मरणीय रहनेछ ।
आज उहाँ हामीमाझ हुनुहुन्न । तर उहाँले जीवनभर गर्नुभएका सत्कर्म, समाजप्रतिको योगदान र उहाँसँग जोडिएका आत्मीय सम्झनाहरू सधैँ हामीबीच जीवित रहनेछन् ।
यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो हार्दिक समवेदना व्यक्त गर्दछु । ईश्वरले यस अपूरणीय क्षति सहन गर्ने शक्ति सम्पूर्ण परिवारलाई प्रदान गरून् ।




